ह्विलचियर एसिया कप ट्वान्टी-२० : नेपालको सम्भावना कमजोर

जेष्ठ ३, २०७६
काठमाडौँ — लगातार दोस्रो खेलमा हार बेहोरेपछि नेपालको ह्विलचियर एसिया कप ट्वान्टी-२० क्रिकेटको फाइनल खेल्ने सम्भावना कमजोर बनेको छ । नेपाल बिहीबार बंगलादेशसँग ८ विकेटले पराजित भयो । नेपालले अघिल्लो दिन भारतसँगको खेल ६ विकेटले गुमाएको थियो ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा ओपनरद्वय होमनाथ राईले ३६ र कप्तान डिगमसिंह चेम्जोङले ३५ रन बनाए पनि नेपालले त्यसको फाइदा उठाउन सकेन ।
होमनाथले ३० बल खेली ४ चौका प्रहार गरे । डिगमको ३८ बलको इनिङ्समा कुनै बाउन्ड्री थिएन । विपिन पौडेल शून्यमा आउट भए । डम्बर मगरले १९, विनुशंकर श्रेष्ठले १६ रन बनाए । धनबहादुर थिन र सागर पाण्डेले ५-५ रन जोडे । बंगलादेशका मोहम्मद मोहिदुल इस्लामले ३ र मोहम्मद रमिन शेखले १ विकेट लिए । मोहमद रिपोन उद्दिनले अविजित ५० रन बनाएपछि बंगलादेशले ९ बलअगाडि लक्ष्य पूरा गर्‍यो ।

उनले ३५ बल खेली १० चौका प्रहार गरे । अर्का अविजित ब्याट्सम्यान मोहम्मद असिफ हुसैनले १० रन बनाए । ओपनरद्वय शहजाद हुसैन ३१ र जावेद अहमद ३८ रनमा आउट भए । हुसैनले ३० बल खेली ६ चौका र अहमदले ३८ बल खेली ७ चौका प्रहार गरे । नेपालबाट डिगम र सुपर राईले १-१ विकेट लिए ।
प्रतियोगितामा बंगलादेशको यो पहिलो जित हो । भारत पहिलो दुवै खेल जितेर फाइनल नजिक छ । भारतले मंगलबार नै भएको दोस्रो खेलमा चिरप्रतिद्वन्द्वी पाकिस्तानलाई १७ रनले हरायो । पाकिस्तानले २ खेलमा एक जित हात पारेको छ ।
टस हारेर ब्याटिङमा आएको भारतले निर्धारित २० ओभरमा २ विकेट गुमाई १ सय ९३ रन बनायो । भारतका ओपनर पर्शुराम डेसालले ७१ बलमा २१ चौका प्रहार गरी अविजित १ सय ९ रन बनाए । जवाफमा आएको पाकिस्तानले ५ विकेट गुमाई १ सय ७६ रनमात्र बनाउन सक्यो । साजिद अली अब्बासीले ५७ बलमा १२ चौका प्रहार गरी ८८ र मोहम्मद फैजले ३२ बलमा ९ चौका प्रहार गरी ४७ रन बनाए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*