मार्क्स, केरा र अलैंची

समाजवाद भनेको नेपालमा र अरूतिर पनि साधारण न्याय, श्रमको सम्मान र त्यसको उपभोग गर्न पाउने अधिकार हो । त्यत्ति त मिलाउनुपर्ने होइन र ?
कार्तिक १७, २०७५अभि सुवेदी

काठमाडौँ — यसपालि दसैंको फुर्सदमा एकाध विचारले तरङ्गित भएँ । सोचेंँ, नेपाल समाजवादी देश हो, कमिनिष्ट पार्टीको शासन छ । तर पनि सबैलाई थाहा छ, विपन्न मानिस र किसानको अवस्था झन्–झन् बिग्रिंँदै गएको छ ।

सम्झेंँ, मार्क्सले मजदुरमाथि लेखे पनि किसानहरू पनि उनका सिद्धान्तले समेटेकै वर्गमा पर्छन् । नेपालका किसान र विपन्नको विषयमा उनको सिद्धान्तको मूलजरो समातेर अरू सोचेंँ । अनि लेख्न मन लाग्यो । यो लेख त्यही हो ।

पहिले कार्ल माक्र्सको विचारका केही मूल कथन फेरि पढेंँ । क्यापिटलमा सन् १९३९ मा मात्र छापेर यसमा छैटौं अध्याय भनेर राखेको ‘उत्पादनका छिटोछिटो तरिकाको परिणाम’ भन्ने खण्ड छ । यसमा माक्र्सले भनेका कुराले मलाई छोइबस्छ । साहित्यकार भएकोले छुने कुरा खोजिरहन्छु । माक्र्सले मानिसको मूल्य गरेको कुरा यसमा महत्त्वपूर्ण छ । मलाई त्यत्ति कुरामा चाख छ । माक्र्सले माथि उल्लेख गरेको अध्यायमा लेखेका छन्, ‘पुँजीवादीले मजदुरलाई पेल्छ, तर यो पेलाइको अर्थ अर्को छ । यो निष्प्राण वस्तुले मानिसमाथि अधिकार गरेको कथा हो । मृत श्रमले जीवन्त श्रमलाई अधिकार गरेको कथा हो । यो उत्पादनले उत्पादकमाथि गरेको अधिकार हो ।’
माक्र्सले भनेको कारखानाको पुँजीपति र श्रमिकजस्तो नभएर यहाँ किसानको कुरा उठ्यो । त्यसो त क्यापिटलमा माक्र्सले किसानको विषयमा पनि नलेखेका होइनन् । अठारौं शताब्दीको अन्त्य र उन्नाइसौं शताव्दीका सुरुका वर्षहरूमा बेलायतका किसानलाई अति थोरै ज्याला दिएर काम लगाइएको कुराको वर्णन गरेका छन्, तिनले । मेसिन वा यन्त्रसँग अपरिचित ती विचरा साना किसानहरू, तिनका छोराछोरीलाई कठोर मिलमा काम गर्न लगिएको र साना ज्यालादारी बनाइएको वर्णन छ, त्यहाँ । त्यस्तो ज्याला अति थोरै हुन्थ्यो ।
विस्तारै तिनलाई कृषि श्रमबाट बञ्चित गरियो, जसले गर्दा ती अति गरिब भए । यसरी किसानहरू शक्तिहीन भए, अनि भूमिपतिका दास समान भए । माक्र्सले कृषकहरूलाई जमिनबाट निकालेको विश्लेषण क्यापिटलको सत्ताइसौं अध्यायमा गरेका छन् । तर मलाई नेपाली किसानको चरित्र फरक लागेको हो । ती साना छन्, स्वाभिमानी छन्, तर शोषित छन् । माक्र्सले वर्णन गरेकै अनभिज्ञ किसान ती होइनन् । ती कृषि उत्पादन गर्छन्, तर राज्यको सुरक्षा र तिनका श्रमको महत्त्वको रक्षा नगरिएको अवस्थामा छन् ।
मैले यसपालि पाएको केही फुर्सदमा माक्र्सको क्यापिटल यसरी पढेको कारण माक्र्सले देखेको कारखाना मालिक र मजदुरको सम्बन्धको विषय नभएर उपेक्षित बन्दै गएका किसानहरूको अवस्था बुझ्ने प्रयास हो । साधारण तर महत्त्वपूर्ण उदाहरण लिन्छु । बाहिरबाट अवैध आउने केराले केरा बिक्री नभएर विलौना गरिरहेका साना नेपाली किसानका समाचार देखेंँ मैले । निकै ठूला भूभागमा लगाएका तिनका केरा नेपाल शासन गर्ने सबै तहका सरकारका निम्ति अदृश्य थिए । अलैंची लगाउने किसानका त्यस्तै हविगत हेरेंँ । हामी लिम्बुवानमा अलैंचीलाई पहिचानको बाली मान्छौं । त्यसो त अरूतिर पनि अलैंचीको खेती गरिन्छ । खाडी मुलुकबाट फर्केर आफ्नै खेती गरेर राम्रो गरेका युवाका केही समाचार आए ।
तर तिनका उत्पादन बजारसम्म पुर्‍याउन नसकेका कथा सुने अनि देखेँ, ती शून्यमा काम गरिरहेका छन् । धेरै कथा छन् । यो संकेतसम्म हो । अनि सोध्न मन लाग्यो, ‘कमिनिष्ट दर्शनमा उत्पादनमा संलग्न श्रमिकको व्यक्तित्व र सिर्जनशील हुने उसको अवस्था के हो ? किसान, मजदुरको प्रतिष्ठा केमा छ ? त्यस्तै विपन्न किसानको व्यक्तित्व कहाँ छ ? उसले फलाएका धान, केरा, अलैंची, सुन्तला, स्याउ र उसले बाली लगाएर तयार पारेका उखुको नै ऊ मालिक होइन भने ऊ को हो ? यिनै कुराको कमिनिष्ट सरकारले कसरी हेर्छ र संविधानमा लेखिएको समाजवादमा त्यस्को वर्णन त छ, तर व्यवस्था कसरी हुन्छ ?’ म यी सबै कुराको सोझो उत्तर लेख्न सक्ने अर्थशास्त्री होइन, तर एक भावनात्मक चिन्ता भने राख्ने मानिस हुँ ।
एउटा अर्को कुराले पनि मलाई छुन्छ । त्यो हो, भक्तिवस्तु, प्रतिमा वा ‘फेटिस’को विषय । मलाई माक्र्सले लेखेको यो कुराले सोचमा पारिबस्छ । माक्र्स लेख्छन्, ‘श्रम गर्नेबाट तिनले नै उत्पादन गरेका वस्तु टाढा हुँदै जान्छन् । श्रमिकले ती प्रयोजनीय वस्तु वा कमोडिटीमा आफ्नो इच्छा र आफ्नो आत्मा राखेका हुन्छन् । तिनले त्यही देख्छन् ।
ती उत्पादन गरेका वस्तुले नै मानिसलाई किन्छन् कि जस्तो पो देखिन थाल्छ । अनि ती आफ्नो आत्मा र इच्छा राखेका वस्तुलाई तिनबाट अलगिएका, एक्लिएका श्रमिकले, माक्र्सका शव्दमा, ‘फेटिस’ वा भक्तिभाव जगाउने प्रतिमा पो हुन् कि जस्तो देख्छन् ।’ मैले नेपालमा कमिनिष्ट शासन गर्ने र जताततै त्यो शक्ति लिएर बसेकाहरूलाई त्यो बेला सोध्न मन लागेका प्रश्न सरल छन्– आफूले लगाएका उखु कारखानामा पसेपछि किसान तीबाट अलग भए त ? आफ्नो उखुको मूल्य नपाएका किसानका निम्ति चिनी ‘फेटिस’ भयो त ? केरा उत्पादन गरेर बजारमा अर्कैको अतिक्रमण भएका असुरक्षित किसानको बाली, अदुवा र अलैंची उत्पादनमा अनेक गरेर लागेका श्रमिकको उत्पादन पनि बजारको व्यवस्था नगरिदिँंदा ‘फेटिस’ नै भयो त ?
नेपालमा माक्र्सवादीहरूले पहाडै पल्टाउनुपरेको पनि छैन । किसान, विपन्न मानिसका श्रमको सम्मान र तिनका उत्पादन तिनका आफ्ना नभएर सामन्त शैलीका मालिकका हुने अवस्था परिवर्तन गरिदिनुपर्‍यो । अर्थशास्त्री भाइहरूले लेख्लान् । भनिदेलान्, नेपालमा श्रम, श्रमिक, उत्पादनमा मानिसले प्रयोग गर्ने अधिकारको बुझिने स्वरूप भ्रष्ट रूपमा परिचालित पुँजी, त्यसको राजनीति, शासन पद्धति, चुनावमा प्रयोग हुने अराजक पद्धतिले गर्दा अब नबुझिने भएकै हो त ? समाजवाद भनेको नेपालमा र अरूतिर पनि साधारण न्याय, श्रमको सम्मान र त्यसको उपभोग गर्न पाउने अधिकार हो ।
त्यत्ति त मिलाउनुपर्ने होइन र ? अब ती सबै कुरा ल्याङफ्याङ भएकै हो त ? भूमि हिजोको रहेन । मलको प्रयोग र बिउबिजनको कारणले त्यो मर्दै गएको छ । वन्दना शिवले काठमाडौंमा एउटा प्रस्तुतिमा भनेको सम्झिन्छु, ‘किसानहरू मल, बिउ, यन्त्र सबैतिरबाट व्यापारी र अन्तर्राष्ट्रिय खेलको चक्करमा परिरहेका छन् ।’ नेपालका कमिनिष्ट सरकारले माक्र्सका एकाध माथि भनिएका कुरामात्रै बुझिदिएर अहिलेको समयको चुनौती अनुसार काम गर्नैपर्ने हो । तर अर्थ र अर्थनीतिका अर्कै चरित्र, अर्कै स्वरूप देखिन लागेका हुनाले सायद त्यो सरल विषयले अब काम दिँंदैन कि त ?
यो दसैंको बेलामा अरू केही अनौठा अनुभव भए । तरङ्ग चले । ध्वनि उठे । नेपाल र बाहिर फराकिलो जगत अनेकौं आकारमा देखियो र पढियो । एकपछि अर्को भ्रम, समाधानका थोरै समस्याका धेरै विषय पढेंँ । लेख्ने ठाउँ पुग्दैन ।
युभाल नोह हरारी नामका इजरायली तेजिला प्राध्यापकको ट्वेन्टिवान लेसन फर द ट्वेन्टि फस्ट सेन्चुरी (२०१८) किताब पढ्नु, शृङ्खला नमिलेको पश्चिमी र यताकै जगतमा भएका घटना हेर्नु र पढ्नु, हत्याका क्रमहरू हेर्नु, बालकहरू चढेका बसमा ठूला शक्तिशालीका बम खस्नु, बालकहरू भोकभोकै खिइँंदै गएर विलाएका दृश्यहरू हेर्नु, उत्तरी ध्रुवका हिउँका विशाल फाँट पग्लिंँदै गएको र छिटोछिटो कुद्ने विशाल टाउफुन–आँधीहरू अमेरिका, एसिया र युरोपका किनारी सहरहरूलाई भुत्ल्याउँदै अघि बढ्नु, अमेरिका र अरू मुलुकमा आम सञ्चारमाथि आक्रामक भाष्यका प्रयोग हुनु यसपालिको दसैंमा किञ्चित विचारको तहबाट पनि राम्ररी हेरेर बोध गरेका विषय भए, मेरानिम्ति ।
हजारौं मानिस आफ्ना देशमा परिस्थिति असह्य भएर अर्को सम्पन्न मुलुकतिर लागेका दृश्यले भन्छन्, फेरि एकपटक सीमाहरू अनि राजनीतिक र वैचारिक सिद्धान्त अर्थहीन हुँदै गएका छन् । आफ्नै वरिपरि हेर्दा बढी अर्थ खुल्छन् ।
यसपालिको वर्षा ठूलै थियो । कोशी नदीको बाढीले प्रताडित वर्षौंदेखि अदृश्य भएर बसेका मानिसका सीमान्त पीडाका दृश्य हेरेंँ । तिलाठीमा भूमि, बाँध र तरङ्ग भोग्ने जनताका पुनरावृत्ति हुने सीमान्त हविगत केही टिभीका प्रतिभाशाली रिपोर्टरहरूले गएर खिचेका समाचार भर्खरै हेरेको थिएँ ।
लाग्यो, यसपालिको मनसुन र बाढी जेनतेन उनीहरूले धाने होलान् । यसपालिको वर्षा पनि जेनतेन धानेका, जीवन्त आर्काइभ सदृश भइसकेका प्राकृतिक प्रकोपले विस्थापित मानिसका पीडाका कथा, देशैभरि पुरा नभएका सडक, भवन र ठेक्काका वर्णन र दृश्य अनि बलात्कार र हत्याका समाचारका पुनरावृत्ति सुनेर बस्दा एकाध कुरा मेरो मनमा उठे । ती प्रश्नको उत्तर खोज्न मैले केही सिद्धान्तको सहारा लिएँ । छलफलका धेरै विषय छन् । यहाँ लेख्न सकिँंदैन ।
हाम्रा राजनीतिक दृष्टिका रचनाकार को हुन् ? यसको उत्तरमा हेगेल र माक्र्सीय शैलीको गतिशील इतिहासका प्रेरणाले अद्र्धमुदित आँखा भएका विपन्न वर्ग र किसानका निम्ति काम गर्ने माक्र्सवादी नेताहरू खोजिरहनुभन्दा कसले लोकतन्त्र, मान्छेका अधिकार र गरिब, निस्सहाय मानिसका निम्ति काम गर्ने नीति र सोच राख्छन् र के गर्दैछन्, त्यत्ति कुराको उत्तर खोज्नुमा मात्र समयको सदुपयोग गरिएको ठहर्नेछ । तर नेपालमा माक्र्सवाद एक भाष्यमात्रै भएको हो कि त ? साभार ः कान्तिपुर दैनिक


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*