भटमासको तेल निर्यात तेब्बर

काठमाण्डाै – चालू आर्थिक वर्ष ०७७-७८ को ६ महिनामा भटमास तेल (सोयविन) निर्यात दुई सय ८९ प्रतिशतले बढेको छ ।
मुलुकबाट सबैभन्दा बढी निर्यात हुने भटमासको तेल ६ महिनामै यति धेरै प्रतिशतले वृद्धि भएको हो । व्यापार प्रवद्र्धन तथा निकासी केन्द्रको तथ्यांकअनुसार, ६ महिनामा १७ अर्ब ३३ करोड ३४ लाख रुपैयाँ बराबरको भटमासको तेल निर्यात भएको छ । यो नेपालबाट निर्यात हुने वस्तुहरूमध्ये सबैभन्दा धेरै हो । अघिल्लो वर्ष सो अवधिमा ४ अर्ब ३७ करोड ७३ लाख ५५ हजार रुपैयाँको भटमास तेल निर्यात भएको थियो ।
भारतले प्रशोधित पाम आयल आयातमा प्रतिबन्ध लगाएसँगै व्यवसायीले भटमास तेलको कच्चा पदार्थ आयात गरेर पुनः निर्यात गरेका हुन् । विदेशबाट भटमासको कच्चापदार्थ ल्याई पुनः प्रशोधन गरेर भारत निर्यात गर्ने क्रम बढेको छ । ६ महिनाको अवधिमा व्यवसायीले १७ अर्ब ६७ करोड १२ लाख २ हजार रुपैयाँ बराबरको भटमासको कच्चा पदार्थ आयात गरेका छन् । कच्चा पदार्थ आयात गरेर मुलुकमा प्रशोधन गरी व्यवसायीले पुनः निर्यात गर्ने गरेका छन् । नेपालबाट निर्यात हुने वस्तुमध्ये शीर्षस्थान ओगटेको प्रशोधित पाम तेलमा भारतले गत वैशाखदेखि प्रतिबन्ध लगाएपछि अहिले त्यसको स्थान भटमास तेलले लिएको छ । तथ्यांकअनुसार चालू आवको सुरूदेखि नै प्रशोधित भटमासको तेल नेपालको पहिलो निर्यातयोग्य वस्तु बनेको हो ।
नेपाली व्यवसायीहरूले अर्जेन्टिना, ब्राजिल, पाराग्वे, इन्डोनेसिया तथा युक्रेनबाट भटमास आयात गर्छन् । मुलुकमा प्रशोधन गरी भारत निर्यात गर्छन् । सबैभन्दा बढी कच्चा भटमास तेल अर्जेन्टिनाबाट आयात हुने गरेको छ ।
केन्द्रका अनुसार, यी वस्तु नेपालबाट निर्यात गर्दा महसुल लाग्दैन । अन्य मुलुकबाट नेपाल आयात गर्दा पनि गुणस्तरका आधारमा थोरै भन्सार लाग्छ । पुनः भारत निर्यात गर्दा महसुल नलाग्ने हुँदा व्यवसायी कच्चापदार्थ ल्याई प्रशोधन गरेर निर्यात गर्नेतर्फ आकर्षित भएका हुन् ।
पूर्ववाणिज्य सचिव पुरुषोत्तम ओझा कृषिजन्य वस्तु निर्यातमा छुट दिएकाले पनि भटमासको कच्चा पदार्थ आयात गरेर ठूलो परिणाम निर्यात भएको बताउँछन् । यस्तै नेपालबाट निर्यात हुनेमा दोस्रो नम्बरमा अलैंची परेको छ । ६ महिनामा अलैंचीको निर्यातमा ५१ प्रतिशतले बढेर ३ अर्ब ८१ करोड ७६ लाख ४१ हजार रुपैयाँको निर्यात भएको केन्द्रको तथ्यांक छ । अघिल्लो वर्ष सो अवधिमा २ अर्ब ५१ करोड ८२ लाख १० हजार रुपैयाँको निर्यात भएको छ । यस्तै चिया निर्यातमा ६७ प्रतिशतले बढेर २ अर्ब ७७ करोड ५३ लाख ९७ हजार रुपैयाँको निर्यात भएको केन्द्रको तथ्यांक छ । अघिल्लो वर्ष ६ महिनामा १ अर्ब ६५ करोड ६९ लाख ७५ हजार रुपैयाँको निर्यात भएको थियो । यस्तै ६ महिनामा चाउचाउ र पास्ता निर्यातमा ६३ प्रतिशतले बढेर ९५ करोड ४ लाख ३९ हजार रुपैयाँको निर्यात भएको छ । अघिल्लो वर्ष सो अवधिमा ५८ करोड १८ लाख ५७ हजार रुपैयाँको निर्यात भएको थियो ।
यस्तै ६ महिनामा मुलुकबाट छालाका उत्पादनको निर्यातमा ६१ प्रतिशतले बढेर २ अर्ब १७ करोड १३ लाख ६६ हजार रुपैयाँ बराबरको निर्यात भएको छ । अघिल्लो वर्ष सो अवधिमा १ अर्ब ६५ करोड ६९ लाख ६८ हजार रुपैयाँको निर्यात भएको थियो । ६ महिनामा मुलुकबाट निर्यात ६ प्रतिशतले बढेर ६० अर्ब ७९ करोड ९२ लाख ४ हजार रुपैयाँ बराबेका वस्तु निर्यात भएको केन्द्रको तथ्यांक छ । अघिल्लो वर्ष सो अवधिमा ५७ अर्ब २७ करोड ९७ लाख ४८ हजार रुपैयाँको वस्तु निर्यात भएको थियो । कोरोना भाइरस (कोभिड–१९)को प्रभावले आयात घटे पनि निर्यात भने बढ्दै गएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*