सपना रोका मगरलाई धम्की दिने विनयजंग बस्नेतविरूद्ध पक्राउ पुर्जी जारी

बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेकी १८ वर्षीया सपना रोका मगरलाई धम्क्याउने विनयजंग बस्नेतविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।

बस्नेतलाई पक्राउ गर्न आइतबार दिउँसो पुर्जी जारी भएको काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए।

‘आज प्रहरीले जाहेरी दर्ता गरेको छ। हामीले पुर्जी जारी गरिसकेका छौं,’ पराजुलीले भने,’‍उनी चितवनमा छन् भन्ने खबर छ। प्रहरीको टोली त्यँहा गएको छ।’

बस्नेतविरूद्ध आइतबार अभद्र व्यवहारको मुद्दामा महानगरीय प्रहरी परिसर, काठमाडौंमा जाहेरी दर्ता भएको हो।

बस्नेतले युट्युबमा सपना रोका मगरका नांगा तस्वीर देखाइदिने भन्दै धम्की दिएपछि परिसरमा जाहेरी दर्ता गरिएको हो।

परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले उनको खोजी गरिरहेको बताए।

सपनाले शुक्रबार नै जाहेरी दिन खोजेकी थिइन्। शुक्रबार र शनिबार सार्वजनिक बिदा भएको कारणले जाहेरी लिएर आइतबार मात्रै दर्ता गरिएको एसएसपी सिंहले बताए।

उनका अनुसार बस्नेत अहिले काठमाडौं बाहिर छन्। प्रहरीले उनको खोजी गरिरहेको छ।

बस्नेतले युट्युब च्यानलमा आफूसँग सपनाका नग्न तस्वीरहरू पेनड्राइभमा भएको बताएका थिए। उनले ती सामाग्रीहरू सार्वजनिक गर्ने धम्की दिएका थिए।

यसअघि सपना र बस्नेतले मिलेर बेवारिसे शव जलाउने काम थालेका थिए। म्याग्दीबाट काठमाडौं आएकी सपना  बस्नेतसँगै बस्थिन्। सोही क्रममा उनीहरूबीच  तिक्तता आएको थियो। गत कात्तिकमा बस्नेतलाई छोडेर सपना घर फर्किएकी थिइन्।-Setopati


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*