चौंरी र बाख्रा पाल्न सिरीजंगा गाउँपालिकाको अनुदान

ताप्लेजुङ-जिल्लाको सिरीजंगा गाउँपालिकाले चालु आर्थिक वर्ष २०७७-०७८ मा लागत साझेदारीमा चौंरी पालन संरक्षण-प्रबद्र्धन कार्यक्रम संञ्चालन गरेको छ । चौंरी पालन क्षेत्र मानिएको गाउँपालिकाको वडा नं. ७ खेवाङ र वडा नं. ८ याम्फुदिनमा कार्यक्रम लागू हुने जनाएको छ । गाउँपालिकाले सार्वजनिक सूचना जारी गरेर सम्बन्धित क्षेत्रका चौंरीपालक किसानलाई प्रस्ताव आव्हान गरेको छ ।
चालु आ.व.मा खेवाङ र याम्फुदिनका लागि १६ लाख बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष टीकाराम गुरुङले जानकारी दिए । चौरी पालक कृषक छनौट भएपछि वडामा जनही ८–८ लाख रुपैयाँ उपलब्ध गराउने अध्यक्ष गुरुङले बताए । गुरुङले भने,“कार्यक्रम प्रथम पटक लागू भएको छ । आगामी वर्षदेखि उपलब्धिका आधारमा थपघट हुनसक्छ ।”
खेवाङ र याम्फुदिनमा ३÷३ वटा दर्तावाल कृषक समूह÷समिति÷सहकारी संस्थाले प्रस्ताव पेश गर्न सक्ने गाउँपालिकाअन्तर्गत पशु सेवा उपशाखा प्रमुख शिवमंगल यादबले जानकारी दिए । समुदायस्तरबाटै कार्यक्रमबारे माग भएकाले सूचना सार्वजनिक भएलगत्तै कृषकहरु गाउँपालिकाको सम्पर्कमा आएका छन् । कार्यालयकी आर्थिक विकास शाखा प्रमूख सपना तिवारीका अनुसार औपचारिक रुपमा प्रस्ताव दर्ता भनेका भएको छैन् । तिवारीले भनिन्, “धेरै जना बुझेर फर्केका छन् । सायद म्याद भएर होला,दर्ता गर्न त्यति हतार देखिएका छैनन् ।”

याम्फुदिनका चौंरी पालक डम्बर गुरुङका अनुसार सामूहिक रुपमा प्राय चौरी पालन छैन् । उनले भने, “व्यक्तिले मात्र चौरी पालन गरेका छन् । कसै कसैले गोठ मिसाएपनि सम्बन्धित कार्यालयमा फर्मको रुपमा दर्ता गरेका छैनन् ।” यद्यपी कार्यक्रम स्वीकृतका लागि दर्तावाल कृषक समूह÷समिति वा सहकारीमामा कम्तीमा १० जना हुनुपर्ने र प्रति कृषक १० माउ चौंरी पालेको हुनुपर्ने प्रावधान छ । नेपाल सरकार, कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत “लागत साझेदारीमा पशुपंक्षी प्रबद्र्धन कार्यक्रम संञ्चालन प्रक्रिया,२०७७” बमोजिम मापदण्ड बनाएरक कार्यक्रम लागू गरिएको हो ।
यसैबीच गाउँपालिकाले वडा नं. ३ सिकैचा र वडा नंं ६ मामाखेमा बाख्रा पालन कार्यक्रम लागू गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत बाख्राको साना व्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रमका लागि १४ लाख विनियोजन गरेको छ । प्रतिपकेट क्षेत्रमा ७÷७ लाखका दरले प्रदान गर्ने भएको छ ।

इच्छुक कृषि समूह,सहकारी वा फर्मले माग भएअनुसारको कागजात बुझाउनका लागि फागुन ४ गतेसम्मको समयअवधि छ । समूह वा संस्था तथा फर्मले कम्तीमा ६ सय वटा बाख्रा पालन गरेको हुनुपर्ने वडा नंं ३ का बडाअध्यक्ष सन्तोष चाम्लिङले जानकारी दिए । वडाअध्यक्ष चाम्लिङका अनुसार पशुपालनका दृष्टिकोणले अनुकुल क्षेत्र भएकाले कृषकहरु लाभान्वित हुने अपेक्षा गरिएको छ ।-Karobar Daily


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*