धान खेती हुने लगभग सबै ठाउँमा रोपाइँ, उत्पादन बढाउन रोगकीरा चुनौती

ताप्लेजुङ, साउन ३२ । यसवर्ष धान खेती हुने सबै ठाउँमा रोपाइँ हुने भएको छ । सरकारले झण्डै ९९ प्रतिशत क्षेत्रफलमा रोपाइँ हुने अनुमान गरेको छ ।

धानखेती हुने जमिनमध्ये अहिलेसम्म ९८ दशमलव १९ प्रतिशत रोपाइँ भएको कृषि तथा पशुपंक्षी मन्त्रालयले जनाएको छ । मनसुन र कोरोना महामारीपछि गाउँघरमा जनशक्ति बढेपछि यसपाली अहिलेसम्मकै धेरै क्षेत्रफलमा धान रोपाइँ भएको छ । कृषि तथा पशुपंक्षी मन्त्रालयका अनुसार यसवर्ष अहिलेसम्मकै बढी क्षेत्रफलमा धान रोपाइँ भएको हो ।

नेपालको मुख्यबाली धान १३ लाख ७१ हजार ७ सय ६ हेक्टर क्षेत्रफलमा खेती हुने गरेको छ । त्यसमध्ये यो वर्ष अहिलेसम्म १३ लाख ४६ हजार ९ सय २० हेक्टरमा धान रोपिएको मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले जानकारी दिनुभयो । उहाँका अनुसार रोपाइँ अन्तिम चरणमा पुगेको छ । अझै ८/१० अर्थात् भदौको पहिलो हप्तासम्ममा रोपाइँ गर्न सकिनेछ ।

मन्त्रालयका अनुसार मौसमले साथ दिए यसपटक ६० देखि ६५ लाख मेट्रिक टन धान उत्पादन हुने अनुमान छ । गएको आर्थिक वर्षमा ५५ लाख ५० हजार मेट्रिक टन धान उत्पादन भएको थियो । विगत केही वर्षयता धानको उत्पादन ५० लाख मेट्रिक टनभन्दा घटेको छैन ।

विगत ४ वर्षको उत्पादन तथ्याङ्क(मेट्रिक टनमा)

२०७३/७४ मा ५२ लाख ३० हजार

२०७४/७५ मा ५१ लाख ५१ हजार

२०७५/७६ मा ५६ लाख १० हजार

२०७६/७७ मा ५५ लाख ५० हजार

२०७७/७८ मा ६० देखि ६५ लाख अनुमानित ।

लक्ष्य अनुसारको धान उत्पादनमा चुनौती

सरकारले अबको दुई वर्षमा धानमा आत्मनिर्भर हुने लक्ष्य राखेको छ । ६६ लाख मेट्रिक टन धान उत्पादन भए नेपाल धानमा आत्मनिर्भर हुनेछ । सरकारले यसपाली उत्पादन हुने अनुमान गरेको लक्ष्य भेट्टाउनै मुश्किल रहेको धानबाली विज्ञले बताएका छन् ।

धानका लागि मल र रोग कीरा मुख्य चुनौती छ । कोरोना सङ्क्रमणको जोखिमका कारण लकडाउन भएपछि भारतमा रोकिएको मल अझै नेपाल भित्रिन सकेको छैन । त्यस्तै नेपालमा सलह कीराको जोखिम पनि कायमै छ ।रासायनिक मलको अभाव र सलह कीराको जोखिमले धानको उत्पादन बढाउन सहज नभएको नेपाल कृषि अनुसन्धान परिषद् नार्कको राष्ट्रिय बालीरोग विज्ञान अनुसन्धान केन्द्रका प्रमुख एवं वरिष्ठ वैज्ञानिक सुरज वैद्यले बताउनुभयो ।

‘कोरोनाको जोखिमका कारण शहरबाट गाउँ गएका तथा विदेशबाट घर फर्केकाहरु समेत खेतीमा सक्रिय भएका र मौसमले समेत साथ दिएपछि धान रोपाइँ समेत भयो’ उहाँले भन्नुभयो, ‘लगभग अब रोपाइँ सकिएको छ, यसअघि नै धान रोपाइँ गरेका किसानले गोडमेल सुरु गरेका छन् तर धानबालीमा राख्ने मल पर्याप्त छैन ।’

त्यस्तै लगातार परिरहेको पानीले बाढी आएपछि तराईका केही ठाउँमा रोपेको धान डुबानमा परेको छ । यसले पनि उत्पादनमा केही असर पर्ने सक्ने विज्ञ वैद्यको दाबी छ । उहाँले भन्नुभयो, ‘मल तत्काल ल्याउन सके अनि बाढीले क्षति गरेका ठाउँमा विकल्प दिन सके र सलहबाट जोगाउन सके मात्रै उत्पादन बढ्नेछ ।’

धानबालीमा लाग्ने मुख्य रोग कीरा

नेपाल कृषि अनुसन्धान परिषद् नार्कको राष्ट्रिय बालीरोग विज्ञान अनुसन्धान केन्द्रका प्रमुख एवं वरिष्ठ वैज्ञानिक वैद्यका अनुसार उत्पादन बढाउन पर्याप्त मल र सलहसहितका धानमा लाग्न सक्ने रोग कीराबाट जोगाउन मुख्य ध्यान दिनुपर्छ । बीउको छनोट गरी रोपाइँ गरिसकेको अवस्थामा मलखाद, गोडमेल र रोगको सङ्क्रमणतर्फ सचेत रहन उहाँको जोड छ ।

यो बेला पानी धेरै भएको ठाउँमा धानको बेर्ना, जरा, फेद र डाँठमा विभिन्न रोग लाग्ने भएकाले पानीको निकासमा मुख्य ध्यान दिन उहाँको सुझाव छ ।

‘धानको बेर्ना, जरा, फेद, डाँठ, पात र बालामा समेत रोग लाग्छ’ विज्ञ वैद्यले भन्नुभयो, ‘पानी धेरै भयो भने उत्पादनमा पनि असर पर्न सक्छ त्यसैले खेतमा पानीको निकासको व्यवस्थापनमा मुख्य ध्यान दिनुपर्छ ।’ धानबालीमा मरुवा, डडुवा सहित ढुसीजन्य रोग देखिन्छ । पहाडी जिल्लामा मरुवा रोग र तराईका जिल्लामा डडुवा रोग बढी लाग्छ । यी रोगले धानबाली फस्टाउन दिँदैन ।

ब्लाष्ट रोग

यो धानमा देखिने मुख्य रोग हो । यो रोग लागे टिका टिका भएका खैरो थोप्ला देखिन्छ । खेतमा पानी बढी भए यो रोग देखिन सक्ने विज्ञ वैद्यले बताउनुभयो ।

ब्याक्टेरियल लिफ ब्लाइट

बेर्नाको पातमा किनाराबाट लामो पहेँला वा खैरा रङ्गका धर्साहरु देखिन्छ । पात टुप्पोबाट सुक्दै मर्न सक्छ । यसका लागि सिफारिस अनुसार रासायनिक मल हाल्न, रोग लागेको खेतमा केही दिन पानी सुकाउन उहाँको सुझाव छ ।

फेद कुहिने रोग

खेतमा रोग लागेको बिरुवा अग्लो नहुने, पहेँलिने र फेद कुहिएर मर्ने हुन्छ । यस्तो बिरुवा उखेलेर हटाउने वा जलाएर नष्ट गर्न सकिन्छ । त्यस्तै पातको फेद डढुवा रोग लागे बोट सुकेर डढेको जस्तो देखिने बालीरोग विज्ञ वैद्यले बताउनुभयो ।

धानको जुका

धानमा लाग्ने जुकाले धानको जरामा आक्रमण गर्छ । जुकाले आक्रमण गरे जराबाट बिरुवाले आवश्यक पर्ने खाद्य तत्व लिन सक्दैन । त्यसका लागि खेतमा पानीको उचित निकास मिलाउनुपर्नेमा उहाँको सुझाव छ ।

रोगकीराबाट धानबालीलाई जोगाउन सकेसम्म कृषि प्राविधिकसँग सल्लाह गरी विषादी प्रयोग गर्न, गोडमेल र मलखादको प्रयोगमा ध्यान दिन पनि नेपाल कृषि अनुसन्धान परिषद् नार्कको राष्ट्रिय बालीरोग विज्ञान अनुसन्धान केन्द्रका प्रमुख एवं वरिष्ठ वैज्ञानिक वैद्यको सुझाव छ ।

मलको अभाव अझै केही दिन रहने

यसअघि लगाएको धानबाली गोडमेल गर्ने बेला भैसक्दा पनि मलको समस्या उस्तै छ । रासायनिक मल नपाउँदा किसानलाई समस्या भएको छ । मनसुनले साथ दिएपछि समयमै धान रोपाइँ सकेका किसानलाई यो बेला युरिया मलको अभाव भएको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार बर्खेबालीका लागि झण्डै ७० हजार मेट्रिक टन युरिया र डीएपी मल आवश्यक पर्छ ।

त्यसमा पनि साउनदेखि भदौसम्म १ महिना झण्डै ४० हजार मेट्रिक टन युरिया मल आवश्यक पर्छ । तर हरेक वर्षजस्तै यसवर्ष पनि किसानले समयमै मल पाउन सकेका छैनन् । भारतबाट आउने भनेको युरिया र डीएपी मल अझै पनि आइसकेको छैन ।

कृषि मन्त्रालय, कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले कोरोना सङ्क्रमण र लकडाउनका कारण चाहेर पनि धानबालीसहित बर्खे बालीका लागि किसानलाई युरिया मल उपलब्ध गराउन नसकेको जनाएका छन् । कृषि मन्त्रालयका प्रवक्ता डाक्टर केसीले लकडाउनका कारण असार पहिलो हप्ता आउनुपर्ने मल अहिलेसम्म नआएको तर भदौको दोस्रो हप्तासम्म ल्याउने गरी प्रकृया अघि बढेको बताउनुभएको छ । झण्डै ५ महिनादेखि युरिया मल भारतमा अड्किएको छ ।-Ujyaaloonline


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*