सलामीले बदनामी : निर्देशिका नहुँदा कतै पिर्का, कतै टेबलमा सलामी

२०७६ असार १० मंगलबार

जनप्रतिनिधिलाई सलामीको भोक, प्रहरीलाई चाकडीको रोग

प्रहरीको समारोह व्यवस्थापन निर्देशिकामा स्थानीय तहका पदाधिकारीलाई सलामी दिने कुनै प्रावधान छैन । निर्देशिकामा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, प्रहरी महानिरीक्षक, गृहसचिव, क्षेत्रीय प्रशासक, प्रजिअ र न्यायाधीशलाई औपचारिक कार्यक्रममा सलामी दिइने उल्लेख छ ।
त्यस्तै, राजदूतहरूलाई औपचारिक कार्यक्रममा महामहिम सलामी दिइन्छ । अन्य वरिष्ठ प्रहरी अधिकारीलाई अनुगमनका क्रममा जाँदा मात्र सलामी दिइन्छ । सामान्यतया प्रहरी कार्यालयको औपचारिक भ्रमणमा मात्र सलामी दिने प्रचलन रहेको डिआइजी विश्वराज पोखरेलले बताए ।
पूर्वएआइजी नवराज ढकाल सलामी विकृत बन्दै गएको बताउँछन् । ‘सलामी भनेको विशिष्ट व्यक्तिलाई सुरक्षा निकायले दिने एउटा सम्मान हो,’ उनी भन्छन्, ‘यसलाई निर्देशिका बनाएर एकरूपता दिनुपर्छ ।’ निर्देशिका नहुँदा कतै पिर्का, कतै टेबलमा सलामी दिने विकृति देखिएको उनको भनाइ छ ।

प्रहरीको चाकडीप्रथा

पछिल्लो समय सलामी उच्चपदस्थलाई दिइने सम्मानभन्दा चाकडीका रूपमा देखिने गरेको छ । सुरक्षा निकायले नेता तथा उच्चपदस्थ अधिकारीलाई प्रभावित गर्न र रिझाउन यसरी सलामी दिने गरेको छ । पहिले सीमित उच्चपदस्थलाई रिझाउँदा पुग्थ्यो, तर अहिले स्थानीय तहदेखि संघीय सरकारका अधिकारीलाई समेत प्रहरीले सलामी दिनुपरिरहेको छ । स्थानीय तहको वार्षिक सभामा सबैजसोले सलामी लिने गरेका छन् ।

सुरक्षामा समेत असर

सलामीको विकृतिले शान्तिसुरक्षामै असर ल्याउने अवस्था आएको प्रहरी अधिकारी बताउँछन् । उच्चपदस्थ व्यक्ति धेरै भएको र उनीहरूलाई सलामीका लागि प्रहरीलाई स्ट्यान्डबाई राख्नुपर्दा गस्तीलगायतका काम प्रभावित हुने गर्दछन् । ‘कोही स्कर्टिङ खोज्छन्, कोही सलामी खोज्छन्,’ एक जिल्लाका प्रहरी प्रमुख भन्छन्, ‘भिआइपीहरूको सम्मान मोहले हैरान भइसक्यो ।’

टेबुलमाथि चढेर सलामी खाने धनकुटाको महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपाल भन्छन्, ‘सांसदले सलामी खाएकै छन्, अरू मेयरले पनि खाएका छन्, मेरो मात्रै आलोचना किन ?’

माननीयहरूले सलामी खाएको देखेँ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र खेलकुद विकास समितिका अध्यक्षले पनि खाएको देखेँ, अन्तका मेयरले पनि खाएका छन्, मेरो मात्रै किन आलोचना ?
नगरपालिकाको नीति तथा कार्यक्रम बनाउनमै व्यस्त थिएँ । ४ असारमा नगरस्तरीय ११औँ ‘राष्ट्रपति रनिङ सिल्ड छनोट प्रतियोगिता’ उद्घाटन गर्नुपर्ने निम्ता आयो । नगरपालिकाको शिक्षा तथा खेलकुद शाखाले आयोजना गरेको हो । तर, यो सलामी खाने भन्ने कुराको जानकारी थिएन । कार्यक्रममा पुग्दा सबै अथितिले ‘तपाईंलाई कुरेर बसेको, कार्यक्रम यस्तो (सलामी दिने कार्यक्रम) छ’ भन्नुभयो । मैले हुँदैन भनेँ, उपप्रमुखले पनि यो नगरौँ भन्नुभयो । उहाँहरूले ‘यो खेलको नियम हो, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वा प्रधानाध्यापकहरूले समेत सलामी लिँदै आएका छन्, यो चलनलाई तपार्इंले पनि गर्नुपर्छ’ भन्नुभयो । नगरपालिकाकै प्रशासकीय अधिकृतदेखि सबै अतिथिले सलामी लिनुपर्छ भन्नुभयो । हामीले गाउँमा यस्तो नगरौँ भनेको हो । साथीहरूले सलामी नगरी कसरी कार्यक्रम हुन्छ भन्नुभयो । हामीलाई सबैले घेरेर लगेपछि बाध्यकारी अवस्था पनि भयो । अनि मैल सलामी लिएँ । हतारहतारमा त्यस्तै भयो । अब यसलाई विधिसम्मत भन्ने कि विधिविपरीत ? हामीलाई त सोख पनि होइन । गाउँको गरिबको छोरा हुँ । अहिले पनि बेँसीको धान बोकेरै खान परेको छ । कुनै सोख छैन, सलामी लिने ।
विधिमा के छ मलाई जानकारी भएन । अध्ययन पनि गरेको छैन । विद्यालय व्यवस्थापन समितिका अध्यक्षले सलामी खाएको देखेकै हुँ । खेलकुद विकास समितिका अध्यक्षले पनि खाएको देखेको हुँ । धनकुटामा भएको भलिबल प्रतियोगितामा पनि माननीयज्यूहरूले सलामी लिइरहेको देखेको थिएँ । अन्तका मेयरले पनि खाएका छन् । अनि, मैले सलामी खाँदाचाहिँ किन यस्तो ? मेरो फोटोको मात्रै प्रचार गर्नु षड्यन्त्र हो । नत्र, कार्यक्रम भएको ४–५ दिनपछि किन भाइरल बनाइयो ? मिडियामा जसरी प्रचार भएको छ, बिल्कुल त्यो मनस्थिति होइन । आयोजकहरूको पनि त्यो मनस्थिति होइन । आज मैले बोलाएर छलफल गराएँ । कार्यपालिकाको बैठकमा आयोजना गर्नेलाई पनि बोलाएँ । यो नियतवश हो कि के हो भनेर सोधेँ । यो नियतवश होइन, प्रस्तावअनुसार नै चलेको हो भन्नुभयो । हाम्रा वडाध्यक्षहरूले पनि यो अचम्म मान्नुपर्ने होइन भन्ने राय व्यक्त गर्नुभएको छ । विधिले दिने रहेछ । त्यो नगरी नहुने हो भने के भन्नु ? तिनै जनताले तयार गरेको हो, भनेको मान्नै परिहाल्यो । विधिभन्दा बाहिर रहेछ भने करेक्सन हुन्छ ।

ओखलढुंगाका प्रदेश सांसद मोहनकुमार खड्का भन्छन्, ‘टेबुलमा बसौँ भन्ने अनुरोध थियो, म आफैंले पिर्का भए पुग्छ भनेको हुँ, पढेलेखेका मूर्खले विरोध गरेका छन्।’


राष्ट्रपति रनिङ सिल्ड सुरु हुने वेलामा सुनकोसी गाउँपालिकाले आयोजना गरेको खेल थियो । प्रदेशको सांसद भएको हैसियतले म त्यो कार्यक्रममा प्रमुख अतिथि थिएँ । खेलको उद्घाटन हुनुपूर्व खेलाडीले मार्चपास गर्ने र प्रमुख अतिथिले खेलाडीलाई नियमबद्ध र अनुशासित बनाउन खेलाडीलाई सलामी दिने प्रक्रिया हुँदो रहेछ ।
त्यही क्रममा म उभिएको थिएँ, त्यही वेला फोटो खिचेर नियोजित रूपमा प्रचार गरियो । जसरी मेरो फोटो खिचेर गलत ढंगले प्रचार गरियो, सामान्य बुद्धि भएका मान्छेहरूले गर्दैनन् । अज्ञानताका कारण वा कुनै प्रायोजित टिमका मान्छेले गर्ने काम हो । हामी जनप्रतिनिधले वाचाहरू पूरा गरेका छौँ कि छैनौँ भनेर निगरानी हुनुपर्ने हो । तर, यस्ता विषयमा गलत प्रचार गरिएको छ । यो पढेलेखेका मूर्खहरूको खेती हो ।
मार्चपासको वेला सलामी लिने खेलको अन्तर्राष्ट्रिय नियम नै हो । जहाँसम्म पिर्काको कुरा हो, त्यो खेलको नियममा अनिवार्य रहेछ । उनीहरूले प्रमुख अतिथि टेबुलमा बस्नुपर्ने भनेका थिए । मैलै पर्दैन भनेँ । अलिकति अग्लो स्थानमा बस्नुपर्ने रहेछ । भुइँबाट अलिकति माथि बस्नुपर्ने हो भने सामान्य पिर्का राखौँ न त भनेर सलामी लिइएको हो, त्यसलाई देशमा धेरै राजा भए भनेर प्रचार गरिएको छ, त्यो देश बिगार्नेहरूको खेल हो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ भन्छन्, ‘भुइँमा उभिएर सलामी लिने कुरा भएन, स्ट्यान्डमा उभिएको हुँ, आदर्शको कुरा गर्दिनँ, काम पनि गर्ने हो, सलामी पनि खाने हो ।’

पर्वतको फलेवासमा नगरपालिकामा माध्यमिक विद्यालयस्तरीय खेलकुद प्रतियोगिता रहेछ । मलाई प्रमुख अतिथिका रूपमा बोलाएका थिए । खेलाडीहरूले मार्चपास गरेर सलामी दिने रीत रहेछ । स्ट्यान्ड राखेर थोरै अग्लो बनाइएको ठाउँमा सलामी खान मलाई उभ्याए । त्यही वेला कसैले फोटो खिचेर राखिहालेछन् । त्यसरी सलामी दिन, खानु केही अनौठो होइन, चलन नै हो । ठूलाबडाले ठूलो ठाउँमै उभिएर सलामी खाने व्यवस्था गरिएको हुन्छ । अरूले पनि भुइँमा उभिएर सलामी लिने कुरा भएन, पिर्कामै भए पनि व्यवस्था गरिएको हुन्छ । त्यस्तो सलामी नलिँदा पनि हुने हो । तर, चलेको रीत हो । गर्नै हुन्न यस्तो भनेर म आदर्शका कुरा गर्दिनँ । काम पनि गर्ने हो, सलामी पनि खाने हो ।

पूर्वमन्त्री अर्जुननरसिंह केसी भन्छन्, ‘मन्त्री हुँदा नुवाकोट गएको वेला घरभित्र थिएँ, बाहिर आँगनमा सलामीको तयारी भएछ, अप्ठ्यारो मानीमानी सलामी लिएँ, तर यो परम्परा हटाउनुपर्छ ।’


मन्त्री हुँदा नुवाकोटस्थित मेरै घरमा सलामी दिने तयारीबारे मलाई थाहा थिएन । घरमा बसिएको थियो । बिहान भएपछि मेरो पिएसओले सलामीको तयारीबारे जानकारी गराए । मैले यस्तो के जरुरी छ र भनेँ । तर, प्रहरीले प्रचलन भन्दै सलामी दिएर हिँडे । यसबारे तर्क–वितर्क भएपछि मैले एसपीलाई सोधेँ । उहाँले ‘यो हाम्रो प्रचलन हो’ भन्नुभयो । त्यसलाई राजनीतिक रङ दिने काम भयो । तर, मैले त्यसलाई खास वास्ता गरिनँ । मन्त्री घरमा बसेपछि झन्डा राख्ने र झन्डालाई सलामी दिने प्रचलन रहेछ । तर, अहिले पिर्कामाथि र टेबलमाथि पनि स्थानीय जनप्रतिनिधिले सलामी लिएको देखियो । असजिलो देखियो । यो परम्परालाई पनि निरन्तरता दिनु हुन्न । मलाई नै थाहा नदिई विवादमा पारियो । त्यसैले यस्तो परम्परालाई हटाउनु–कटाउनु नै राम्रो हुन्छ ।

पूर्वमन्त्री प्रेमबहादुर सिंह भन्छन्, ‘मन्त्री हुँदा जुम्लालाई खुला दिसामुक्त जिल्ला घोषणा गर्ने कायक्रममा गएको थिएँ, म बसेको होटलको बाहिर प्रहरीले सलामी दिन थाल्यो, बाध्य भएर लिएँ ।’


सलामी दिने व्यवस्था राज्यले नै गरेको हुन्छ । मन्त्रीनिवासमा देशको झन्डासहित सुरक्षाकर्मी राखिएको पनि त्यसैका लागि हो । सिंहदरबारको मूल गेटको भित्रपट्टि सेनाको एउटा प्लाटुन नै त्यसका लागि राखिएको छ । म मन्त्री हुँदा जुम्लालाई खुला दिसामुक्त जिल्ला घोषणा गर्ने कायक्रममा प्रमुख अतिथि भएर गएको थिएँ । म बसेको होटेलकै अगाडि प्रहरीले सलामी दिन थाल्यो, बाध्य भएर लिएँ । त्यो स्थापित सिस्टम नै हो । संस्थागत रूपमा माथिबाटै यस्ता नियम र परम्परामा पुनर्विचार गर्नुपर्छ । राष्ट्रपति, प्रधानमन्त्रीलगायतका भिआइपीहरूले सडक खाली गराएर साइरन बजाएर हिँड्नेदेखि सलामी खानेसम्मका चलन आवश्यक छैनन् । नयाँ पत्रिकाबाट


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*